फेसबुकमा पछ्याउनुहोस्
हुप्सेकोट चैत १४ – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास सम्बन्धी समस्या समाधानका लागि स्थानीय तहका पदाधिकारी, सहजीकरण समिति तथा कर्मचारीहरूलाई लक्षित गरी हुप्सेकोट गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी (ब.सु.पू) का अध्यक्ष तारापति खरेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भयो।
कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरू, जनप्रतिनिधि, सरोकारवालाहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा भूमि समस्या समाधान प्रक्रिया, कानुनी प्रावधान, नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।
प्रमुख अतिथि तारापति खरेलले भूमि समस्या समाधानका लागि सरकारले अघि सारेका नीतिहरूबारे जानकारी गराउँदै अव्यवस्थित बसोबासको उचित व्यवस्थापनका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नु भयो। त्यस्तै, अध्यक्ष लक्ष्मी देवी पाण्डेले भूमिहीन तथा सुकुम्वासीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ राना, प्रमुख प्रशासकीय अधिकृत हरि पराजुली,भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी (ब.सु.पू) का सदस्य होमनाथ जैसी, पूर्ण प्रसाद वि.क. लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले भूमिहीन तथा सुकुम्वासी समस्या समाधान प्रक्रियामा देखिएका चुनौती तथा समाधानका उपायहरूबारे आफ्ना धारणा राखेका थिए। अभिमुखीकरणपछि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरू भूमिसम्बन्धी व्यवस्थापन प्रक्रियामा थप सक्षम हुने विश्वास गरिएको छ।