८ : ४० : ०६
२०८१ चैत्र १७, आईतबार

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

  • बिष्णु गौडेल
  • २०८१ चैत्र १३, बुधबार
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), १३ चैत,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा–१७ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारका लागि गन्तव्य बन्दै गएको छ ।
प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने यो केन्द्रमा सर्वसाधारण नागरिक मात्र नभई सरकारी अधिकारी, राजनीतिक नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचार तथा आरोग्य प्राप्तिका लागि आउने गरेका छन् ।
प्राकृतिक चिकित्सालयमा उपचारका लागि आउनु भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचार पश्चात् निको भएर मङ्गलवार फर्कनु भएको छ ।

कम्मरमा दुखाइका कारण हिँडडुल गर्न नै समस्या भएपछि प्राकृतिक उपचारका लागि आउनु भएका माओवादी नेता वर्षमान पुन निको भएर फर्कन लागेको बताउनु भयो ।
“बुटवलमा भएको कार्यक्रममा सहभागी हुने क्रममा अचानक कम्मरमा दुखाइ भयो , हिँडडुल गर्न नै समस्या भए पछि उपचारका लागि काठमाडौँ फर्कँदै गर्दा पूर्व सभामुख कृष्ण बहादुर महारा जीले प्राकृतिक चिकित्सालय रजहर जान सुझाव दिए पछि यहाँ हेर्नका लागि पसेको थिए तर पूर्ण उपचार नै गराएर फर्कँदै छु”,उहाँले भन्नु भयो,“केही दिन ह्विलचियरमा नै हिँड्नु पर्ने अवस्था आयो तर प्राकृतिक उपचार पद्धति वाट निको भएको छु ।”


प्राकृतिक चिकित्सालय रजहरमा आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बन्दै गएको हो ।

यहाँ विशेष गरी माटो चिकित्सा, जल चिकित्सा, योग, पञ्चकर्म, मालिस थेरापी, तथा आहार सन्तुलन मार्फत उपचार गरिन्छ । जीवनशैलीजन्य रोगहरू–उच्च रक्तचाप, मधुमेह, मोटोपना, ढाड दुखाइ, मांसपेशी समस्या, तथा मानसिक तनाव व्यवस्थापनमा यहाँका सेवा प्रभावकारी देखिएको नेता पुनले बताउनु भयो ।

प्राकृतिक चिकित्सालयमा नै उपचार गराउनु भएकी पूर्व सभामुख ओनसरी घर्तीका अनुसार यहाँको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान, र योग साधनामा केन्द्रित भएकाले सर्वसाधारण सँगै धेरै विशिष्ट व्यक्तिहरूको आकर्षण बढेको हो ।
“नियमित योग अभ्यास, प्राकृतिक भोजन, र प्रशस्त हरियालीयुक्त वातावरणले स्वास्थ्य सुधारमा उल्लेखनीय सहयोग भएकाले १३ दिन बितेको थाहा नै भएन”,उहाँले भन्नु भयो,“यो उपचार पद्धति निकै प्रभावकारी लाग्यो ।”


प्राकृतिक चिकित्सालयमा यस अघि पूर्व सभामुख कृष्ण बहादुर महारा, पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की र रेखा शर्मा , लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेश प्रमुख तुलाराम घर्ती , बागमती प्रदेशको पूर्व अर्थ मन्त्री जेएन थपलिया, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुल प्रसाद कोइराला, गायक पशुपति शर्मा, रमेशराज भट्टराई लगायतका व्यक्तिहरू यहाँ आएर सफल उपचार पश्चात् फर्किएको व्यवस्थापक हरि सापकोटाले जनकारी दिनु भयो ।

विगत केही वर्षयता यो केन्द्रमा विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशी नागरिकहरू पनि आउने क्रम बढेको छ ।
“प्राकृतिक उपचारप्रति आस्था राख्ने विशिष्ट तथा सर्वसाधारण व्यक्तिहरूका लागि प्राकृतिक चिकित्सालय रजहर स्वास्थ्य पुनः स्थापनाको प्रमुख केन्द्र बन्दै गएको छ”,उहाँले भन्नु भयो ।


चिकित्सालयमा आधुनिक सुविधा सम्पन्न आवासीय सेवा, अनुभवी चिकित्सक तथा योग प्रशिक्षक, स्वच्छ वातावरण, र प्राकृतिक उपचारका लागि आवश्यक सम्पूर्ण पूर्वाधार उपलब्ध रहेको व्यवस्थापक सापकोटाले बताउनु भयो ।
“पछिल्लो वर्षहरूमा सर्वसाधारणको आकर्षण सँग सँगै उच्च ओहोदाका व्यक्तिहरूको समेत उपचारका लागि आउने क्रम बढेको छ”,उहाँले भन्नु भयो,“यहाँ आउने सबै सेवाग्राहीलाई समान व्यवहार सँगै सर्वसुलभ उपचार गरिने हुँदा सबैको चासो र आकर्षण बढेको हो ।”
विसं २०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन देशका ७७ जिल्लाबाट मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्यु जिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।

तत्कालीन समयमा ५२ शय्याबाट सुरु गरिएको संस्थामा हाल तीन सय शय्याको क्षमता रहेको छ ।
“अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्”, उहाँले भन्नु भयो, “सर्जरी बाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।”
चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक रु एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक रु १५ लाख खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ ।

“चिकित्सालयमा हाल सम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ”,उहाँले भन्नु भयो ।
प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा.आजाद पुरीले बताउनु भयो । “मानव शरीर पञ्चत्वले बनेको हुन्छ ।

प्राकृतिक चिकित्सा र योगले नै शरीरलाई स्वस्थ र सबल राख्न सक्छ”, उहाँले भन्नु भयो, “आहार नै औषधि र औषधि नै आहार यसको मूल सिद्धान्त हो ।”
प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीन वटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घ रोग हुने बाटो नै बन्द गर्ने डा पुरीको भनाइ छ ।

“निकट भविष्यमा नै निम्न, मध्यम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनाउने योजना सहित शिक्षण अस्पतालको अवधारणा अगाडि सारिएको हो”,उहाँले भन्नु भयो ।
चिकित्सालयमा आकाश चिकित्सा, वायु चिकित्सा, सूर्य किरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडीबुटी चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सक, मर्म चिकित्सा, मालिस चिकित्सा, गोमूत्र चिकित्सालगायतका विधिबाट उपचार गराइन्छ । चिकित्सालयमा कोरोनाको महामारीको समयमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई सेवा दिइएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस