विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १२ चैत,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म चार सय २६ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म जिल्लामा ११ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनु भयो । नयाँ क्षयरोगी मध्य १४ जना बालबालिका रहेका छन् ।
“जिल्लामा अहिले चार सय २६ जना क्षयरोगीले औषधी सेवन गरिरहनु भएको छ”, उहाँले भन्नु भयो, “औषधी सेवन गरिरहेका क्षयरोगी मध्य बहु औषधि प्रतिरोध बिरामी(डी.आर) भएका पाँच महिला र चार पुरुष गरी नौ जनाको मध्यविन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगी मध्य सबैभन्दा बढी कावासोती नगरपालिकामा ८८ जना, देवचुली नगरपालिकामा ८५ जना, गैँडाकोट नगरपालिकामा ७५ जना, मध्यविन्दु नगरपालिकामा ५६ जना, विनयी त्रिवेणी गाउँपालिकामा ४२ जना, हुप्सेकोट गाउँपालिकामा ४२ जना, बुलिङटार गाउँपालिकामा ३२ जना र बौदीकाली गाउँपालिकामा छ जना रहेको तिवारीले बताउनु भयो । जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९० प्रतिशत रोगीको सफल उपचार भएको तथ्याङ्क रहेको छ ।
“जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ म छ सय तीन जनामा क्षयरोग भेटिदा २६ जनाको मृत्यु भएको थियो, २०७९/८० मा पाँच सय ४६ जनामा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाका मृत्यु भएको थियो”,उहाँले भन्नु भयो,“आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले जानकारी दिनु भयो । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा डीआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ नवलपरासी(बर्दघाट सुस्तापूर्व)को एक जना सहित नौ जना डीआर क्षयरोगीहरूको आवासीयरुपमा उपचार भइरहेको छ ।
“चालु आर्थिक वर्षको फागुन मसान्त सम्म २७ जना पुरुष र ११ जना महिला गरी ३७ जना डीआर क्षयरोगीहरू भेटिएका छन् । जस मध्य नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेका रहेका छन्”,उहाँले भन्नु भयो ।
गण्डकी प्रदेशमा डीआर होस्टेल नवलपरासी(बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्की जिल्लामा रहेको छ । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ । जिल्लामा क्षयरोग खोज पडताल कार्यक्रम अन्तरगत आठ वटै पालिकामा गरी चार हजार चार सय ८० जनाको छातीको एक्स–रे गरिएको थियो भने तीन सय जनाको खकार परीक्षण गरिएको थियो । क्षयरोग खोज पडताल शिविर वाट ८५ जना नयाँ क्षयरोगी भेटिएको प्रादेशिक जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनु भयो ।
“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”,प्रमुख सिंहले भन्नु भयो,“समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने प्रमुख सिंहले बताउनु भयो । बहु औषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनु भयो ।
विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामीहरू रहेका छन् । जस मध्य २८ प्रतिशत भारत, ९.२ प्रतिशत इन्डोनेसिया, ७.४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।
नेपाल सरकारले क्षयरोग निवारणको लागि आर्थिक वर्ष २०७७–७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकोमा आर्थिक वर्ष २०८२–८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ ।
प्रत्येक वर्ष मार्च २४ तारिकका दिन मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि सोमवार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइँदै छन् । यस वर्षको क्षयरोग दिवसको नारा “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता,आजको आवश्यकता” तय गरिएको थियो ।