विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २ चैत,
वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । सुख्खा मौसम सुरु भए सँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि आगामी चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो ।
जस अन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू सञ्चालन गरिने भएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताउनु भयो ।
“प्रत्येक वर्ष चैत १ गते देखि ७ गते सम्म सचेतना मूलक रूपमा सप्ताहव्यापी कार्यक्रम गर्ने गरिएको छ”,उहाँले भन्नु भयो,“सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम सञ्चालन गरिने छ ।”
वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अधिकांश सामुदायिक वनहरू डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन डिभिजन वन कार्यालय प्रमुख अधिकारीले आग्रह गर्नुभयो । वन डढेलो जोखिम उच्च जिल्लाहरू मध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व) १६ औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख अधिकारीले बताउनु भयो ।
“वन जङ्गलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय बारे सरोकारवालाहरुलाइ जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ”,उहाँले भन्नु भयो,“जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरुपमा सूचित गरिने छ ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिशिर लम्सालले बताउनु भयो । जिल्लामा ५८ प्रतिशत भूभाग वन जङ्गलले ढाकेको छ ।
“आ.व. २०८०/८१ म जिल्लाको कुल एक सय ८१ ठाउँमा वन डढेलो लाग्दा पाँच हजार दुई सय ८९ दशमलव ६५ हेक्टर वन क्षेत्रमा क्षति भएको अनुमान गरिएको छ”,सूचना अधिकारी लम्सालले भन्नु भयो ।
नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत ,प्राकृतिक कारणले एक प्रतिशत र चार प्रतिशत बन डढेलोका कारण थाहा नभएको लम्सालले बताउनु भयो ।
“घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठुलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नु पर्ने देखिन्छ”, उहाँले भन्नु भयो ।
डढेलोले जन, धन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उप समिति, नेपाली सेना सँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।
नेपालमा प्रत्येक वर्षको चैत १ देखि ७ गते सम्म ‘वन डढेलो सचेतना सप्ताह’ र वैशाख १ देखि ७ गते सम्म ‘वन्यजन्तु संरक्षण सप्ताह’को रूपमा मनाउने गरिएको छ ।