फेसबुकमा पछ्याउनुहोस्
हुप्सेकोट, २५ फागुन
महिलाहरू आत्मनिर्भर भए महिलामाथि हुने विभेदहरू कम हुने सरोकारवालाहरूले बताएका छन् । हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको अन्तर पुस्ता अनुभव संवाद कार्यक्रममा सहभागी महिलाहरू आत्मनिर्भर र आत्मविश्वासी हुनु आवश्यक रहेको औँल्याएका हुन ।
अष्टलक्ष्मी आमा समूहका अध्यक्ष ६० वर्षीय लक्ष्मी कोइरालाले महिलाहरू परिवारका अन्य सदस्यमा निर्भर रहेर बाच्नु पर्दा शारीरिक, मानसिक र सामाजिक विभेदहरू भोग्नु परेको बताउनुभयो ।
हिजोका दिनमा आफूहरूले पढ्न लेख्न नपाउने अभिभावकले बाल विवाह गरिदिने प्रचलनलाई स्मरण गर्दै अध्यक्ष कोइरालाले भन्नुभयो “आफूहरूले पढ्न नपाएको रहरहरू सन्तानहरूले पुरा गरुन् भन्ने उद्देश्यले पढाउने गरिएको छ । तर प्रेममा परेर विद्यालय स्तर देखि नै भागी विवाह गर्ने समस्या बढेको छ । ”
कार्यक्रममा किशोरी प्रतिनिधि इन्द्रावती पाण्डेले साइबर सुरक्षाका विषयमा जानकार नहुँदा अहिले धेरै किशोरकिशोरीहरुले शारीरिक र मानसिक समस्या भोगिरहेको बताउनुभयो । परिवारमा आमा बुबा वा अन्य सदस्यहरू बिचको झैझगडाले किशोर किशोरीहरूमा नकारात्मक प्रभाव परेको हुँदा परिवारबाट नै असल संस्कार र अनुशासन सिकाउन आवश्यक रहेको पाण्डेले बताउनुभयो ।
लोकसेवा आयोगको परीक्षा तयारीका दिनहरू स्मरण गर्दै हुप्सेकोट गाउँपालिका लेखापाल रोजी खनालले प्रविधिको सही सदुपयोग गर्न सके यसबाट धेरै फाइदा दिन सकिने बताउनुभयो ।
अहिले सबै युवाहरू विदेश जाने सपना मात्रै देख्ने गरेका छन् । खनालले भन्नुभयो“नेपालमा पनि धेरै अवसर छन्, त्यसलाई चिन्न आवश्यक छ । अहिले त लोकसेवा पढ्नको लागि गाह्रो पनि छैन । तर विद्यालय स्तरमा विदेशी भाषाका पढाइहरू हुन लागेका छन् । जसले सिधै विद्यार्थीहरूलाई विदेश जान प्रोत्साहन गरेका छन् । तर नेपालमा नै गर्न सकिन्छ भनेर सिकाउन आवश्यक छ । ”
पहिले विद्यार्थीहरूमा पढाइप्रतिको रुचि धेरै थियो ।
अहिले भने विद्यार्थीहरूमा शिक्षकहरूले भनेको नमान्ने, घरमा आमा बुबालाई नटेर्ने जस्ता समस्याहरू बढिरहेको शिक्षक पुष्पा कँडेलले बताउनुभयो । संयुक्त परिवार र एकल परिवारमा हुर्किएका बालबालिकाहरूमा सिकाई फरक पाइएको भन्दै शिक्षक पाण्डेले भन्नुभयो“विद्यार्थीहरू भोलीका दक्ष जनशक्ति हुन तिनीहरूको भविष्य निर्माणमा शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौ । तर अभिभावकहरूले बच्चाहरूमा मोबाइलको प्रयोग बढाउँदा सिकाई प्रक्रियामा कठिनाइ भएको छ । ”
२०५४ सालमा साबिकको देउराली गाविसमा वडा सदस्य भएर काम गरेको अनुभव स्मरण गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भन्नुभयो“महिलालाई स्वागत गर्नको लागि मात्रै काम लगाउने,योजना छनोटमा उपस्थित नगराउने, महिलाको सहभागिता न्यून देखेर नै त्यही दिन देखि निर्णायक तहमा महिला पुग्नुपर्छ भन्ने हुटहुटीले राजनीतिमा क्रियाशील भएर लागे । ”
वडा सदस्य भएर काम गर्दा जनप्रतिनिधिले कति काम गर्न पर्छ भन्ने ज्ञान थिएन । एक वडामा एक महिला प्रतिनिधि अनिवार्य गरेको हुँदा टिकट पाएर चुनाव लडेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
अहिले गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष हुँदा महिलाको सहभागिता, अधिकार र समानताका लागि आवाज उठाइरहेको बताउनुभयो । आर्थिक अभावका कारण नै विभेदहरू हुने हुँदा यसको न्यूनीकरणका लागि महिलाहरूलाई आत्मनिर्भर हुने कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो । अन्तर पुस्ता सिप हस्तान्तरण गर्नको लागि गाउँपालिकाले २०७५ सालदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । महिला समूह र आमा समूहलाई विभिन्न सिपमूलक तालिमहरू समेत सञ्चालन गर्दै आएको छ ।