२०८१ फागुन ३०, शुक्रबार

प्राविधिक शिक्षाको महत्त्व गाउँ गाउँमा पुर्‍याउन  आवश्यक 

  • बिष्णु गौडेल
  • २०८१ फागुन २३, शुक्रबार
प्राविधिक शिक्षाको महत्त्व गाउँ गाउँमा पुर्‍याउन  आवश्यक 
हुप्सेकोट, २३ फागुन
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्राविधिक शिक्षाको महत्त्व गाउँ गाउँमा पुर्‍याउन आवश्यक रहेको बताउनु भएको छ ।
हुप्सेकोट प्राविधिक शिक्षालयको तेस्रो शिक्षालय सभा उद्घाटन गर्दै अध्यक्ष पाण्डेले प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको बताउनु भयो । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारकै प्राथमिकता प्राविधिक शिक्षामा देखिए पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनु भयो ।
सिटिइभिटी र हुप्सेकोट गाउँपालिकाको साझेदारीमा सञ्चालित हुप्सेकोट प्राविधिक शिक्षालयमा स्थानीय विद्यार्थीको सहभागिता बढाउँदै आगामी कार्यक्रम सञ्चालन गर्न पनि अध्यक्ष पाण्डेले सुझाव दिनु भयो ।
“हुप्सेकोट प्राविधिक शिक्षालयको आवश्यक भौतिक निर्माण लगायतका कार्यहरू सम्पन्न गरेर आङ्गिक बहु प्राविधिक शिक्षालय स्थापनाका लागि अभियान सञ्चालन गरिने र जसरी पनि पूरा गरी छाड्ने लक्ष्य रहेको छु”, अध्यक्ष पाण्डेले भन्नु भयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी गण्डकी प्रदेश प्रमुख कल्पकुमार बस्नेतले गण्डकी प्रदेशमा सञ्चालित प्राविधिक शिक्षालयहरूमध्ये हुप्सेकोट प्राविधिक शिक्षालय उत्कृष्ट रहेको बताउनु भयो । स्थापनाको छोटो समयमा नै शैक्षिक गतिविधिहरूलाई व्यवस्थित गर्दै लैजान शिक्षालय सफल भएकोमा उनले बधाई समेत व्यक्त गर्नु भयो । स्थानीय आवश्यकता र स्रोतलाई आधार मानेर थप प्राविधिक कक्षाहरू सञ्चालन गर्न पनि आचार्यले शिक्षालयलाई सुझाव दिनु भयो ।
शिक्षालय सभाको उद्घाटन कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिंह रानाले प्राविधिक शिक्षाको महत्त्व दिनप्रतिदिन बढ्दो रहेको बताउनु भयो । गाउँ गाउँमा पशु र कृषि प्रविधिको आवश्यकता बढ्दो रहेकाले अध्ययन पछिको रोजगारी अन्य सङ्कायभन्दा राम्रो रहेकाले प्राविधिक शिक्षा प्रति विद्यार्थीको आकर्षण बढाउनु पर्ने उपाध्यक्ष रानाले जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस हुप्सेकोट गाउँ समिति सभापति बलबहादुर रानाले हुप्सेकोट गाउँमा नै प्राविधिक शिक्षा दिन गाउँपालिकाले गरेको लगानी प्रति धन्यवाद व्यक्त गर्नु भयो । आफू पनि विगतमा प्राविधिक शिक्षा अध्ययनका लागि निकै कष्ट गरेर बाहिर गएर पढ्नु परेको स्मरण गर्दै अहिले गाउँ मानै सो सुविधा उपलब्ध भएको प्रति उहाँले खुसी व्यक्त गर्नु भयो ।
वि.स.२०७७ असोज २० गते अनुमति प्राप्त गरी सञ्चालनमा रहेको हुप्सेकोट प्राविधिक शिक्षालयको आफ्नै भवन निर्माण कार्य जारी रहेको शिक्षालय प्रमुख लालचन्द्र लामिछानेले बताउनु भयो । शिक्षालयमा हाल तीन वर्षे बाली  विज्ञान र तीन वर्षे पशु विज्ञानका कक्षामा एक सय १८ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख लामिछानेले जानकारी दिनु भयो ।
शिक्षालय सभाको उद्घाटन कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, हुप्सेकोट गाउँपालिका प्रवक्ता रेवती सारू, वडा न..१ का वडा अध्यक्ष  प्रेम बहादुर घर्ती, वडा २ का वडा अध्यक्ष कृष्ण बहादुर थापा , वडा न. ३ का वडा अध्यक्ष  विष्णु राना, वडा नं.५ का वडा अध्यक्ष पदम बहादुर राना, वडा नं.६ का वडा अध्यक्ष छम बहादुर सोमै, शिक्षा शाखा प्रमुख माधव राज गौतम सहित विभिन्न विद्यालयका प्रधानाध्यापक , विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस