२०८१ फागुन ३०, शुक्रबार

मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव सुरु

  • बिष्णु गौडेल
  • २०८१ फागुन २२, बिहिबार
मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव सुरु

मध्यविन्दु, २२ फागुन
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आज देखि कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव सुरु भएको छ ।
नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी र परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण गर्ने उद्देश्यले आज महोत्सवको नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नु भएको हो ।
महोत्सवमा कृषि तथा प्रविधि प्रदर्शनी स्टल व्यवस्थापनदेखि कृषि प्रदर्शनी, झाँकी व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, अन्तक्र्रिया कार्यक्रम, विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, माटो तथा गोबर परीक्षण, रैथाने खाना प्रदर्शनीलगायतका कार्यक्रम रहेको मध्यविन्दु नगरप्रमुख भिमलाल अधिकारीले बताउनु भयो । जिल्लामा नै पहिलो पटक आयोजना गरिएको यस प्रकृतिको महोत्सवमा कृषक उद्यमी तथा प्राविधिक/अनुसन्धानकर्ता बिच प्रत्यक्ष अन्तरक्रिया समेत गरिने भएको छ ।


“जिल्लाका अन्य स्थानीय तहहरूको समेत सहभागिता रहेको यस महोत्सवमा हरेक दिन विभिन्न जातजातिको मौलिक सांस्कृतिक प्रदर्शनी समेत हुने छ”,उहाँले भन्नु भयो,“सम्पूर्ण किसिमले मौलिक बस्तु, स्थानीय उत्पादन, कला संस्कृति र परम्परा प्रस्तुत गर्ने अवसरको रूपमा महोत्सव रहने छ ।”
मध्यविन्दु नगरपालिकाले यस वर्ष देखि गण्डकी प्रदेशको नवप्रवर्तन कार्यक्रम अन्तर्गत कृषिजन्य उत्पादनमा अग्र्यानिक जोन कार्यक्रम सञ्चालन गरेको छ । पूर्व पश्चिम राजमार्गको मध्य भागमा पर्ने मध्यविन्दु नगरपालिका धान, गहुँ, केरा, बेसार, माछा मासुमा पूर्ण आत्म निर्भर रहेको नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।


“मध्यविन्दु नगरपालिकाको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिस कृषिमा आश्रित रहेका छन्”,उहाँले भन्नु भयो “यस महोत्सवमा कम्तीमा २५ हजारको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ ।”
प्रवेश निःशुल्क रहेको महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानाका स्टल पनि निःशुल्क उपलब्ध गराइएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस