२०८१ फागुन ३०, शुक्रबार

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै बगुवनका महिला

  • बिष्णु गौडेल
  • २०८१ फागुन १८, आईतबार
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै बगुवनका महिला

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), १८ फागुन(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन की धनिसरा सिञ्जाजी हिजो आज व्यावसायिकरुपमा दुना टपरी बनाउन थाल्नु भएको छ । उमेरले ६१ वर्ष पुग्नु भएकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आसमा दुना टपरी बनाउन सुरु गर्नु भएको हो । वनमा खेर गएको सालको पात वाट जीविकोपार्जनको लागि दुना टपरीका लागि लाफा बनाएर विक्री गर्न थालेको उहाँले बताउनु भयो ।
“आफूले जानेको सिपलाई घरमा नै बसेर दुई चार रुपियाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोरा बुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुख गर्न मन लागेको”,उहाँले भन्नु भयो,“आफ्नो औषधी मुलो गर्न भए पनि खर्च पुग्छ की । नजिकैको वनबाट पात ल्याएर दुना टपरी गाँस्ने गरेको छु ।”

बगुवनकै केसरी सिञ्जाजी पनि हिजो आज सालको पात वाट दुना टपरी गाँस्न थाल्नु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले नुन तेलको जोहो गर्नका लागि भए पनि दुना टपरी बनाउन सुरु गरेको सिञ्जाजीले बताउनु भयो ।
“घरको आर्थिक अवस्था त्यस्तै छ, चार जना छोरा छोरी छन् पाल्नै परो, श्रीमानको मात्रै कमाइले कति हुन्छ र , बचेको समयमा काम गरेर केही रकम जोडन सकिन्छ कि भनेर सुरु गरेको हो”,उहाँले भन्नु भयो ।
चारैतिर वाट नदी र जङ्गलले घेरिएको बगुवन गाउँमा आर्थिक उपार्जनको दिगो स्रोत नभए पछि स्थानीय महिलाहरू सालको पात वाट जीविकोपार्जनको उपाय खोज्न थालेका हुन् । ज्याला मजदुरी र कृषि कर्म वाट फुर्सदको समयलाई सदुपयोग गरी महिलाहरूले घरायसी कामकाजसँगै दुना टपरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।
वन वाट ल्याएको सालको पात वाट लाफा बनाएर केही दिन घाममा सुकाए पछि विक्री गर्ने गरिएको छ । एक सय वटा टपरीको १ मुठा हुन्छ । १ मुठाको १५० रुपियाँ प्राप्त हुने स्थानीयको भनाइ छ ।
आय आर्जनको अन्य विकल्प नभए पछि सालको पातको टपरी बनाएर भए पनि केही आम्दानीको उपाय खोजिएको दिनु ढेगा मगरले बताउनु भयो । भौगोलिक अवस्थितिका आधारमा विकट मानिएको बस्तीमा सरकारले केही अवसर सृजना गर्नु पर्ने दिनुको सुझाव रहेको छ ।
“हामीलाई केही सिप सँगै काम दिए हुन्थ्यो भन्ने लाग्छ, नारायणी नदीको डुबान, चितवन राष्ट्रिय निकुञ्जका जनावरको आक्रमणको डरले गर्दा हामी सधैँ पीडित भएका छौ”,उहाँले भन्नु भयो ।
वन जङ्गलमा खेर गएको पात सँग सँगै पातपतिङ्गर वाट जैविक मल उत्पादन गर्ने कार्यक्रममा जोडेर स्थानीय महिलाहरूलाई रोजगारी प्रदान गरिने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो । विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरिएकाले स्थानीयलाई सहज रोजगारी सृजना हुने अध्यक्ष गिरीलेको भनाइ रहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस