रामकुमार श्रेष्ठ,कावासोती, पूर्व–पश्चिम सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य वस्तु उत्खनन गरेको पाइएको छ ।
कावासोती– १६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र टिपर प्रयोग गरी उत्खनन भएका तस्बिरहरू सामाजिक सञ्जालमा आएपछि कावासोती नगरपालिकाले अनुगमन गरेको थियो। अनुगमनको क्रममा फेला परेको एक थान जेसिबी र एक थान टिपरलाई कारबाही गर्ने निर्णय गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले बताए।
पौडेलका अनुसार टिपरको २५ हजार रुपैयाँ जरिवाना र जेसिबीको ७० हजार गरी ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो। नगरपालिकासँग विनाअनुमति उत्खनन गरेको पाइएकाले कारबाही गरिएको कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालले बताए।
प्रमुख भुसालका अनुसार नगरपालिकाले कति परिणाममा नदीजन्य वस्तु उत्खनन गरिएको छ भन्ने थप अनुसन्धान गर्न अनुगमन समिति गठन गरेको र समितिको सिफारिसको आधारमा थप कारबाही हुनेछ।
यसअघि कावासोती नगरपालिकाले स्टक प्रमाणित नभएको नदीजन्य वस्तु जफत गर्ने र चोरी निकासी गर्दै गरेको अवस्थामा सवारीसाधनको संख्याको आधारमा कारबाही गर्ने गरेको भए पनि अहिले भने चोरी भएर प्रयोग भइसकेको सामग्रीको विषयमा कस्तो कारबाही गर्ने भन्ने निर्णय नभएकाले कार्यपालिकाको बैठक बसेर थप कारबाहीको निर्णय हुनेसमेत नगरप्रमुख भुसालले बताए।
प्रहरीले गण्डकी प्रदेश ०४ ००१ ख ००७३ नम्बरको टिपरले अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको थियो । अर्को एउटा जेसिबीलाई कावासोती– १६ वडा कार्यालयको सिफारिसको आधारमा कारबाही गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले बताए।
गत वर्ष पनि चाइना स्टेट कम्पनी नदीजन्य वस्तु चोरी गरेको पाइएपछि कारबाहीमा परेको थियो।