२०८१ फागुन ३०, शुक्रबार

हुप्सेकोट गाउँपालिकामा शिक्षकलाई मासिक रूपमै तलब भुक्तानी सुरु

  • बिष्णु गौडेल
  • २०८१ माघ २९, मंगलबार
हुप्सेकोट गाउँपालिकामा शिक्षकलाई मासिक रूपमै तलब भुक्तानी सुरु

हुप्सेकोट, २९ माघ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले शिक्षकको तलब भत्ता मासिक रुपमै भुक्तानी गर्न सुरु गरेको छ । गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता मासिक रूपमा भुक्तानी गर्न थालेको हो ।

यसअघि त्रैमासिक अर्थात् तीन–तीन महिनामा भुक्तानी हुँदै आएको शिक्षकको तलब मासिक रूपमा भुक्तानी गर्न सुरु भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । गाउँ कार्यपालिकाको बैठकले पारित गरेको निर्णय कार्यान्वयन गर्दै सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकको तलब भत्ता मासिक रूपमा उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले माघ महिनाको शिक्षकको तबल भत्ता भर्खरैदेखि सम्बन्धित शिक्षकलाई भुक्तानी थालेको जानकारी दिनुभयो । “अबदेखि निजामती र अन्य कर्मचारीलाई जस्तै गरी शिक्षकलाई पनि उहाँहरूले पाउने तलब भत्ता मासिक रूपमा भुक्तानी (उपलब्ध) गराइने छ”,उहाँले भन्नु भयो ।

छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा माध्यमिक विद्यालय र आधारभूत तह गरी कुल ४१ वटा सामुदायिक विद्यालय रहेका छन् । उक्त सङ्ख्यामा रहेको विद्यालयमा एक सय २९ जना स्थायी दरबन्दीका शिक्षक कार्यरत छन् । त्यसैगरी गाउँपालिकाले उपलब्ध गराएको स्वयंसेवक शिक्षक अन्तर्गत ८० जना रहेका छन् भने राहत शिक्षक ६१ जना, करार शिक्षक एक सय ३२ जना कार्यरत रहेका गाउँपालिकाले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस