मध्यविन्दु (नवलपरासी),
पूर्व मन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नकारात्मकलाई हटाउँदै सकारात्मक ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नवलपरासी(बर्दघाट सुस्तापुर्व)को कावासोतीमा प्रेस चौतारी नेपाल नवलपुरको सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै गुरुङले सरकारले अराजकता रोक्न सामाजिक सञ्जाल विधेयक ल्याएको बताउनुभयो ।
“सकारात्मकलाई अगाडि बढाउनुपर्छ, नकारात्मकतालाई हामीले चिर्नुपर्छ”,उहाँले भन्नुभयो, “केही भएन भन्ने निराशा फैलाउने काम बन्द गरिनुपर्छ ।”
गाउँ रित्तिए भन्दै नकारात्मकता बढाउनतर्फ मान्छेहरू लागिरहेको भन्दै गुरुङले गाउँ रित्तिएर नै सहरको विकास भएको बताउनुभयो । अहिले भएका नयाँ बजारको विकास र नयाँ केन्द्र स्थापना हुनु भनेकै गाउँ रित्तिनु भएको बताउनुभयो । निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र अहिले भत्किएर समाजवादतर्फको अर्थतन्त्रमा अगाडि बढेको उहाँको भनाइ छ ।
“हामीहरू समाजवादको यात्रामा लाग्दै गर्दा गाउँहरू विकसित हुनु राम्रो कुरा हो” उहाँले भन्नुभयो, “पुरानो अर्थतन्त्र भत्किँदै जानु भने मुलुकमा परिवर्तन हुँदै जानु हो ।”
पुराना अर्थतन्त्र समाप्त भएर एउटा विशाल र समृद्धिको अर्थतन्त्रमा लिएर अगाडि बढ्ने राष्ट्रिय चाहना भएको उहाँको भनाइ छ ।
यसैबिच, प्रेस चौतारी नवलपुरले स्थापना गरेको ‘कृष्णराज गिरी राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट राससकर्मी टेकराज पोखरेल सम्मानित हुनुभएको छ । राष्ट्रिय समाचार समितिमार्फत समाज रूपान्तरणका लागि कलम चलाएको भन्दै पोखरेललाई रु १० हजार राशिको पुरस्कारबाट सम्मानित गरिएको हो । प्रमुख अतिथि गुरुङसहित, नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत, प्रेस चौतारी नेपाका महासचिव हीरामान लामा, पुरस्कार स्थापनाकर्ता विद्रोही गिरी, प्रेस चौतारी नवलपुर अध्यक्ष सालिकराम कोइरालासहितले पोखरेललाई दोसल्ला ओढाइ प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको थियो । त्यस्तै, अधिवेशन उद्घाटन सत्रमै लमजुङका पत्रकार आश गुरुङलाई रु १० हजार राशिको खोज पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । सातौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।