मध्यविन्दु (नवलपरासी), २८ माघ.
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका २ स्थित मनकामना सामुदायिक वनमा एक पुरुष मृत भेटिएका छन् भने महिला घाइते अवस्थामा भेटिएको छ ।
सोमबार बिहान वनमा दाउरा काट्न गएका श्रीमान् श्रीमती साँझ सम्म पनि घर नफर्किए पछि खोजी गर्दा श्रीमान् मृत अवस्थामा र श्रीमती घाइते अवस्थामा भेटिएको हो ।
विनयी त्रिवेणी २ सी.जी.बस्ने वर्ष ७९ को नर बहादुर ठकुरी र श्रीमती वर्ष ६८ की विष्णु माया ठकुरी खाना खाएर घर नजिकै रहेको मनकामना सामुदायिक वनमा दाउरा काट्न भनी गएकोमा साँझ सम्म पनि घर नफर्किएपछि स्थानीले खोजी सुरु गरेका थिए । वनमा श्रीमान् मृत अवस्थामा र श्रीमती टाउकोमा चोट लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक राजन तिम्सिनाले बताउनु भयो ।
घाइते विष्णुमायालाई उपचारको लागी मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको छ । घटना के कारणले भएको हो भन्ने बारे केही नखुलेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।