बोमलाल गिरी,नवलपुर, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले सङ्घीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित सङ्घीयता खारेजीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
जनमोर्चा नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका केन्द्रीय सदस्य दीपक पाण्डेले सङ्घीयता लागु भएपछि देश आर्थिक सङ्कटमा फसेको, प्रशासनिक ढाँचामा अराजकता बढेको र जनताले सोचेअनुसारको लाभ नपाएको भन्दै सङ्घीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
आन्दोलन चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा विभिन्न चरणमा हुने जनमोर्चा नवलपुरका अध्यक्ष गिरबहादुर महतराले बताउनुभयो । सो अवधिभर जनप्रदर्शन, विरोधसभा, ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम गरिने उहाँको भनाइ छ ।
पार्टीले सङ्घीयता खारेजीको विकल्पमा सुदृढ स्थानीय शासन प्रणालीलाई अघि बढाउनु पर्ने प्रस्ताव अघि सारेको छ । जनमोर्चाले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिकता र आर्थिक स्थायित्व जोगाउनका लागि यो आन्दोलन आवश्यक रहेको बताएको छ । जनमोर्चाले प्रतिनिधि सभा सदस्यको सङ्ख्या पनि घटाउनु पर्ने माग गरेको छ ।
यसअघि पनि जनमोर्चाले विभिन्न चरणमा सङ्घीयता विरोधी अभियानहरू सञ्चालन गरेको थियो । अबको आन्दोलन निर्णायक हुने बताउँदै नेताहरूले सङ्घीयता खारेजीको पक्षमा जनमत सिर्जना गर्न सबैलाई आह्वान गरेका छन् ।