२०८१ फागुन ३०, शुक्रबार

व्यावसायिक प्याजखेतीमा जुट्दै कावासोती-१५ का किसान

  • बिष्णु गौडेल
  • २०८१ पौष १४, आईतबार
व्यावसायिक प्याजखेतीमा जुट्दै कावासोती-१५ का किसान

विष्णु गौडेल,मध्यविन्दु(नवलपरासी), १४ पुस,(रासस),
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ गोडारका किसानहरू सामूहिक प्याज खेतीमा जुटेका छन् । शिव शक्ति कृषक समूह गठन गरी स्थानीय ३१ जना कृषकहरूले व्यावसायिकरुपमा प्याज खेती सुरु गरेका हुन् । दुई बिगाहा दश कट्ठा जमिन भाडामा लिएर प्याज खेती गरिएको शिव शक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताउनु भयो ।
“समूहका कृषकहरू बिच व्यावसायिक रूपमा प्याज खेती गर्ने सल्लाह बमोजिम साढे दुई बिगाहा जमिनमा प्याज रोपिएको छ”,उहाँले भन्नु भयो,“नेपालमा प्याज कम लगाइने भएकाले सधैँ अभाव रहने हुँदा परनिर्भरता कम गर्नका लागि पनि व्यावसायिक रूपमा खेती सुरु गरिएको हो ।”

पाँच गट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो प्याजको बिउ लगाइएकोमा रोपेर वाकी रहेको बिउ बेच्दा नगद ३१ हजार आम्दानी भइसकेको अध्यक्ष बरालले जानकारी दिनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुर मार्फत मल, बिउ, कृषि सामाग्री लगायतमा एक लाख ४४ हजार बरावरको आर्थिक सहयोग प्राप्त भए पछि खेती गर्न थप हौसला मिलेको उहाँले बताउनु भयो ।

“समूहका कृषकहरूले दैनिक श्रमदान गरी प्याज रोपेर सकिएको छ, अव समय अनुसार सिँचाई गर्नु पर्छ भने गोडमेल पनि गर्नु पर्छ”,उहाँले भन्नु भयो,“हामीहरूले नै बिउ उमारेर तयार पारेको नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौ, बाकी रहेको बिरुवा अन्य कृषकहरूले खरिद गरी लैजानु भएको छ ।”

प्रतिकट्ठा न्यूनतम छ क्विन्टलका दरले बाह्र लाख मूल्य बरावरको प्याज उत्पादन हुने अनुमान गरिएको कृषि समूहका अध्यक्ष बरालले बताउनु भयो । उत्पादन लागत पाँच लाख लाग्ने अनुमानका आधारमा कम्तीमा पनि सात लाख बचत हुने उहाँले बताउनु भयो ।
“यस अघि व्यक्तिगत रूपमा खेती गर्ने गरिए पनि त्यसले व्यावसायिक लाभ दिन सकेको थिएन”,उहाँले भन्नु भयो,“समूहमा खेती गर्दा काम गर्न पनि सहज हुनुका साथै विक्री वितरण र आम्दानीका लागि उपयुक्त हुने हुँदा यस तर्फ आकर्षित भएका हौँ ।”

सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुनका लागि समूह दर्ता गरी खेती सुरु गरिएको शिव शक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका वडा नं.१५ का वडा सदस्य शिव प्रसाद काफ्लेले बताउनु भयो । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्ता लगायतका प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्यका लागि सामूहिक रूपमा प्रयास गरिएको काफ्लेले बताउनु भयो ।
“गाउँमा बेरोजगारी बढेपछि के हुन्छ त उपाय भनेर सल्लाह गर्दा सामूहिक कृषि नै भन्ने उपाय आयो त्यसमा पनि प्याज खेती गर्ने सबैको सल्लाह अनुसार हामी अगाडि बढेका हौ”,उहाँले भन्नु भयो,“महिला दिदिवहिनीहरु दिउँसोको समयमा फुर्सदमा रहने तथा श्रम गर्न सक्ने जनशक्ति खालि बस्नु पर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याज खेतीका लागि कार्यक्रम सञ्चालन गरे पछि यस वर्ष जिल्लामा शिव शक्ति कृषक समूह जस्तै २५ वटा समूह व्यावसायिक प्याज खेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याज खेती गर्ने योजना सहित १७ लाख बजेट विनियोजन गरिएको छ ।
“यहाँ नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बिउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ”, उहाँले भन्नु भयो “प्याजका लागि यहाँको हावापानी र माटो उपयुक्त भएकाले उत्पादन धेरै हुने अनुमान गरिएको छ ।”

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस