२०८१ चैत्र १, शनिबार

हुप्सेकोट गाउँपालिकाको प्रत्येक वडामा सार्वजनिक सुनुवाइ 

  • बिष्णु गौडेल
  • २०८१ कार्तिक १३, मंगलबार
हुप्सेकोट गाउँपालिकाको प्रत्येक वडामा सार्वजनिक सुनुवाइ 
हुप्सेकोट, १३ कात्तिक,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाले सञ्चालन गरेका योजना तथा सेवा प्रवाहका विषयमा वडा नम्बर ५ को पोखरीमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सुशासन र पारदर्शिताका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेकाले सबै वडाहरूमा पुगेर सार्वजनिक सुनुवाइ गरिएको बताउनु भयो ।
चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका ६ वटै वडाहरूमा सार्वजनिक सुनुवाइ गरी पालिकामा पनि गर्ने गरी कार्यक्रम तय गरिएको बताउनु भयो ।
गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, योजना एवं नागरिकका सुझाव, गुनासो र समस्यालाई नागरिक सँगै बसेर छलफल गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ रानाले गाउँपालिका भित्र सञ्चालन भएका सबै योजनाहरूमा नागरिकले चासो दिनु पर्ने बताउनु भयो ।
जनताको हितका लागि सञ्चालन गरिएका कामको गुणस्तर र प्रभावकारितामा सबै पक्षले चासो राख्नु पर्ने बताउनु भयो । गाउँपालिकाले ग्रामीण क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, यातायात, कृषि, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता राखेर योजना बनाएको उपाध्यक्ष रानाले जानकारी दिनु भयो ।
हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले नागरिकलाई गाउँ घरमा नै सेवा सुविधा सहजता पूर्वक उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको गतिविधिहरू सञ्चालन गरिएको बताउनु भयो । भौगोलिक रूपमा वडा नम्बर ५ ठुलो रहेकाले टाढाको बस्तीमा आलो पालो रूपमा वडा कार्यालय सञ्चालन गरेर भए पनि नागरिकलाई सहजता प्रदान गर्ने प्रयास गरिएको बताउनु भयो ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम बहादुर रानाले पहाडी क्षेत्रमा योजना सञ्चालन र सोचे जस्तो विकास गर्न समस्या भएको बताउनु भयो । पहिरोको जोखिम, यातायातको असुविधा लगाएका कारणले वडा नम्बर ५ का नागरिकले अझै सास्ती भोग्नु परेको उहाँले गुनासो गर्नु भयो ।
गाउँपालिका कार्यालय पुग्नका लागि अन्य पालिका हुँदै जानु पर्ने बाध्यताले गर्दा समस्या भएको वडा अध्यक्ष रानाले बताउनु भयो ।
यहाँका नागरिकलाई गाउँ टोलमा नै पुगेर वडा वाट प्रदान गरिने सेवा दिइरहेको उहाँले बताउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर ५ का नागरिकले विभिन्न योजना एवं कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मी , प्रशासन शाखा प्रमुख रवि काफ्ले , प्राविधिक शाखाका इन्जिनियर विनोद अर्याल सहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
हुप्सेकोट गाउँपालिकाले यस अघि वडा नम्बर २ र ३ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिसकेको छ ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस