२०८१ फागुन ३०, शुक्रबार

व्यावसायिक बाख्रा पालनतर्फ नवलपुरका किसानको आकर्षण

  • बिष्णु गौडेल
  • २०८१ श्रावण २९, मंगलबार
व्यावसायिक बाख्रा पालनतर्फ नवलपुरका किसानको आकर्षण

बिष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), २९ साउन(रासस)
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का किसानहरू व्यावसायिक बाख्रा पालन तर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भए पछि यहाँका किसानको बाख्रा पालन तर्फ आकर्षण बढ्न थालेको पाइएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा बाख्रा पालन गर्ने किसान, व्यावसायिक फार्म र उत्पादित खसी बोकामा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाईँले बताउनु भयो । आव २०७९/८० मा भन्दा आव २०८०/८१ म बाख्रा पालन गर्ने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको पाइएको छ ।
“आव २०८०/८१ मा नयाँ १८ वटा बाख्रा फार्म दर्ता भई सञ्चालनमा आएका छन् अहिले जिल्लामा व्यावसायिक बाख्रा फार्मको सङ्ख्या दुई सय ७४ वटा पुगेको छ”,उहाँले भन्नु भयो,“आव २०७९/८० मा दर्ता भएका बाख्रा फार्मको सङ्ख्या दुई सय ५६ वटा रहेको थियो ।”

फार्म नै दर्ता गरेर बाख्रा पालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने सङ्ख्या अझ उल्लेख्य रहेको पाइएको छ । जिल्लामा आव २०७९/८० मा एक लाख ४३ हजार नौ सय ९० गोटा बाख्रा रहेकोमा गत आवमा सो सङ्ख्या २३ हजार सात सय ८९ ले थप भई एक लाख ६७ हजार सात सय ७९ पुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।
“पछिल्लो तीन वर्षमा जिल्लामा ४५ हजार दुई सय २२ गोटा बाख्रा थप भएका छन्”,प्रमुख गुरागाईँले भन्नु भयो,“तुलनात्मक रूपमा बाख्रा पालनमा कम मिहिनेत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यस तर्फ अग्रसर भएको देखिन्छ ।”

बाख्रा पालन गर्ने किसानको सङ्ख्या बढे सँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसी बोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकोमा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख गुरागाईँले बताउनु भयो । जिल्लामा उत्पादन भएको खसी बोका किसान आफैले विक्री गर्ने गरेका छन् भने केही सहकारी मार्फत सङ्कलन गरेर विक्री गर्ने गरिएको छ ।
“गत आवमा यहाँ उत्पादन भएको खसी बोका मध्य एक सय ६६ मेट्रिक टन सहकारी मार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैले विक्री गरेका छन्”,उहाँले भन्नु भयो ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) वाट गत आव मा एक सय ५० मेट्रिक टन खसी बोका काठमाडौँ, पोखरा र चितवनका बजारमा निकासा भएको तथ्याङ्कमा रहेको छ ।
पछिल्लो वर्षहरूमा पशुपालनका क्षेत्रमा गाई भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गए पनि बाख्रा पाल्ने किसानको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । पशुपालनका क्षेत्रमा धेरै मिहिनेत र परिश्रम गर्नु पर्ने भएकाले त्यो क्षेत्र भन्दा कम मिहिनेत लाग्ने बाख्रा पालन तर्फ किसानको आकर्षण बढेको देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुरागाईँले बताउनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस