२०८१ फागुन ३०, शुक्रबार

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ

  • बिष्णु गौडेल
  • २०८१ अषाढ ३०, आईतबार
नवलपुरमा ८० प्रतिशत धान रोपाइँ

मीना कंडेल

कावासोती, असार ३० गते । नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा ५५ प्रतिशत सिँचाइ पुगेको छ भने ४५ प्रतिशत आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले यस वर्ष मौसम समयमा सक्रिय नहुँदा किसानले समयमा रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन केही ढिला गरी सुरु भएको कारण समयमा सिँचाइ नहुँदा रोपाइँ गर्न बाँकी भएको हो । चैते धान लगाएको र मकै लगाइएका पहाडी क्षेत्रमा रोपाइँ गर्न ढिलो भएको छ।”

आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले जिल्लाका केही ठाउँमा रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् । बौदिकालीका कृषक कमाङसिङ सुस्लिङ मगर भन्नुहुन्छ, “यस वर्ष समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भयो । अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने छ, कहिले हुन्छ थाहा छैन । कहिलेकाहीँ पानी परेको भएपनि पर्याप्त हुन सकेको छैन ।” कम्तीमा धानको बिउँ राखेको एक महिनामा धान रोपाइँ गर्न बिउँ तयार हुने गर्छ तर पानी नपरेका कारण धान रोपाइँ गर्न नपाउँदा बिउँ ठुलो भैसकेको उहाँले बताउनुभयो ।

स्थानीय दुर्गा प्रसाद भुर्तेलले जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भएको, अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने र किसान हरेक वर्ष एउटा न एउटा कुराले समस्या परेको बताउनुभयो ।

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयीत्रिवेणीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको र साउनको पहिलो सातामा सकिने बताइएको छ । नवलपुरमा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गर्दछ ।

जिल्लामा मनसुली, सावित्री, अनदी , झिनुवा लगायत हाईब्रिड जातका धान बढी लगाइन्छ । धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लमा खेती हुने गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस