२०८१ फागुन ३०, शुक्रबार

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

  • बिष्णु गौडेल
  • २०८१ बैशाख ६, बिहिबार
घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

मध्यविन्दु (नवलपरासी), ६ वैशाख (रासस)

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।

गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरु जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताउनुभयो । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन रहेको गुरुङले बताउनुभयो ।

“‘सती’ र ‘बाह्रमासे’ घाटु नाच नचाइन्छ, बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ, गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक-फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय घाटुनाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणमा आफूहरु जुटेको गुरुङले बताउनुभयो । पौराणिक कथाहरुमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सतीघाटु धेरै कम नाच्ने गरिएको छ ।

यसको सुरुआत र समापन निकै रोचक हुने घाटुनाचका गुरु गुरुङले बताउनुभयो । “हामी युवा अवस्थामा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बद्लिएको छ, नयाँ पुस्ताको चासो कम छ”, उहाँले भन्नुभयो, “बसाइँसराइले पहाडबाट हामी तराई आयौँ यहाँबाट हाम्रा छोरा नाति विदेश लागे त्यो सँगै घाटुनाच पनि हराउँदै गयो ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला-पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउन थालेका छौँ ।”

यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो वेशभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जङ्गबहादुर गुरुङले बताउनुभयो । “घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ”, उहाँले भन्नुभयो, “यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेशभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रुपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ ।”

परापूर्वकालदेखि घाटु नृत्यको प्रारम्भ भएको गुरुङ समुदायको मान्यता रहेको छ । सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेको स्थानीय टलबहादुर गुरुङले बताउनुभयो । “पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताले भए पनि घाटुनाच देखाउने गरेका छौँ”, उहाँले भन्नुभयो । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा २०७८ सालको जनगणनाअनुसार गुरुङ समुदायको जनसङ्ख्या १० हजार ९०९ रहेको छ । 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस