२०८१ चैत्र ४, सोमबार

नवलपरासी पूर्वको नमुना सदरमुकाममा भवन निर्माण सुरु हुँदै

  • बिष्णु गौडेल
  • २०८० फागुन २९, मंगलबार
नवलपरासी पूर्वको नमुना सदरमुकाममा भवन निर्माण सुरु हुँदै

मध्यविन्दु (नवलपरासी), 
शिलान्यास गरेको चार वर्ष पछि नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती स्थित नमुना सदरमुकाम स्थलमा भवन निर्माण कार्य सुरु हुने भएको छ । जिल्लाको नमुना सदरमुकाममा संरचना निर्माणका लागि नेपाल सरकारले चालु आर्थिक वर्षका लागि ५० करोड स्रोत सुनिश्चित गरे पछि संरचना निर्माणको प्रक्रिया सुरु भएको हो ।
पहिलो चरणमा सदरमुकाम स्थलमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा एकीकृत प्रशासनिक भवन निर्माण गर्ने सरोकारवालाहरूको बैठक वाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
“पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण विभाग चितवन कार्यालय मार्फत खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ”,उहाँले भन्नु भयो,“दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला काराकार, सुधार गृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालय र अन्य कार्यालयहरूको प्राथमिकताका आधारमा कार्यालय निर्माण गर्ने निर्णय भएको छ ।”
भवन निर्माणका लागि विस्तृत परियोजना डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य तत्काल सुरु गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय सहित दुई वटा एकीकृत सेवा कार्यालय भवन निर्माणका लागि १०÷१५ दिनमा टेन्डर प्रकाशन हुने र त्यसको दुई अढाई महिनामा भवन निर्माण कार्य सुरु हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार बहुबर्षीय योजना अन्तरगत तीन वर्ष भित्र जिल्ला प्रशासन कार्यालय सहितको तीन वटा कार्यालय निर्माण सक्ने गरी काम अगाडि बढाइने छ ।
“दुई वटा एकीकृत सेवा कार्यालयमा तत्कालका लागि चार वटा कार्यालय रहन सक्ने छन्”,उहाँले भन्नु भयो,“सरकारले हालै सुनिश्चित गरेको ५० करोडबाट जिल्ला प्रशासन कार्यालय सहितको तीन वटा कार्यालय बनाइने छ ।”

वि.सं.२०७६ साल वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको नमुना सदरमुकाममा अहिलेसम्म बाटो संरचना निर्माण गरी गिटी विच्छ्याउने बाहेकका काम हुन सकेको छैन । रकम थोरै भएको र प्रक्रिया अगाडि बढाउन समेत समस्या भएको भन्दै सघन सहरी तथा भवन निमार्ण विभागले अहिले सम्म भवन निर्माणको कार्य सुरु गरेको थिएन ।
जिल्लाको सदरमुकाम कावासोती नगरपालिका ३ मा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी नमुना सदरमुकामको रूपमा प्रक्रिया अगाडि बढाइएको हो । नमुना सदरमुकाम निर्माण स्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथि गृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ ।
नमुना सदरमुकाम निर्माण कार्य अलपत्र हुँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा रहेका सङ्घ र प्रदेश मातहतका सरकारी कार्यालयहरूले वार्षिक एक करोड भन्दा बढी रकम भाडा तिरेर कार्यालय राख्न बाध्य भएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस