७ : ५७ : ४५
२०८१ चैत्र २, आईतबार

नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित

  • बिष्णु गौडेल
  • २०८० फागुन १५, मंगलबार
नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलित

कावासोती । नवलपुरका दुग्ध उत्पादक कृषक आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरको अगुवाइमा नाराबाजी सहित पुगेका जिल्लाका दुग्ध उत्पादक कृषकहरूले आज जिल्ला प्रशासन कार्यालय कावासोतीमा ज्ञापन पत्र बुझाएका छन् । प्रशासन कार्यालयको गेट अगाडि प्ले कार्ड सहित किसानहरूले ‘मिल्क होली डे को अन्त्य गर’, ‘दूधको रकम भुक्तानी गर’, ‘विदेशी दुध आयात बन्द गर’, ‘कृषि मन्त्री राजिनामा दे’ लगायतका नाराबाजी गरेका थिए ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले किसानको माग सुनुवाई नभएको भन्दै विरोधमा आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । ज्ञापनपत्र हस्तान्तरण गर्दै उहाँले विगत ६ महिनादेखि किसानले भुक्तानी नपाएको, १५ करोड भन्दा बढी भुक्तानी पाउन बाँकी रहेको, भारतबाट रोग जाँच नगरीकन लैना गाईभैँसी र दूध भित्राउने तर नेपाली किसानले उत्पादन गरेको दूध एवं दुग्ध जन्य पदार्थले बजार नपाउने, हप्ताको तीन दिन मिल्क होली डे हुने अवस्था आएको लगायतका विसंगति विरुद्ध किसान आन्दोलित हुनु परेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष श्रेष्ठले किसानको माग सम्बोधन नभए यही फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म दुइ घण्टा चक्का जाम गर्ने जानकारी गराउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।

नवलपुर जिल्लामा हाल २४ वटा दुग्ध सहकारीबाट दूध बिक्री हुँदै आएको छ भने, दैनिक ५० हजार लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । जसमा १२ हजार भन्दा धेरै कृषक आबद्ध रहेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस