दाङ– दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ बर्षिया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ बर्षिया विपना केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका–८ पिपरी नजिक पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३–०१्०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो। घाइते केसीको सिसहनियाँ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल लगिएको थियो ।
केसीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । एक्कारपियो गाडी तिब्र गतीमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गाडी प्रहरी नियन्त्रणमा भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ।