१० : १८ : ३५
२०८१ चैत्र १, शनिबार

नवलपरासी पूर्वमा ४० जना कोष्ठ रोगी उपचाररत  

  • बिष्णु गौडेल
  • २०८० माघ १४, आईतबार
नवलपरासी पूर्वमा ४० जना कोष्ठ रोगी उपचाररत  
नवलपरासी ,१४ माघ, नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको पुस मसान्त सम्म १६ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि पुस सम्म जिल्लामा १६ जना नयाँ कुष्ठ रोगी पहिचान भएको जनाइएको छ । जिल्लामा अहिले नयाँ र पुराना गरी ४० जना कुष्ठ रोगीले औषधी सेवन गरिरहेका छन् । औषधी सेवन गरिरहेका कुष्ठ रोगी मध्य ३१ जना पुरुष र नौ जना महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन डिल्लीराम तिवारीले बताउनु भयो ।
“अहिले गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै १६ जना कुष्ठ रोगी रहनु भएको छ”, उहाँले भन्नु भयो,“ देवचुली नगरपालिकामा सात जना, कावासोती नगरपालिकामा आठ जना, विनयी त्रिवेणी गाउँपालिकामा तीन जना, मध्यविन्दु नगरपालिकामा पाँच जना कुष्ठ रोगी औषधी सेवन गरिरहनु भएको छ ।”
नयाँ फेला परेका कुष्ठ रोगी मध्य पुरुष १० जना र महिला छ जना रहेको जनाइएको छ । यो अवधिमा चार महिला र चार पुरुष कोष्ठ रोगी उपचार पछि निको भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तिवारीले जनकारी दिनु भयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्ष २०७९÷०८० को असार सम्म २८ जना कुष्ठ रोगी फेला परेका थिए ।
 “जिल्लामा प्रत्येक कुष्ठ रोगीको सङ्ख्या बढ्दै गएको छ” तिवारीले भन्नु भयो “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास गाउँ गाउँमा अझै जागृत गराउनु पर्ने देखिन्छ ।”
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहन्छ ।
उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै तिवारीले भन्नु भयो “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर पार्छ ।”
छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरू आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ ।
प्रत्येक वर्ष जनवरी २९ तारीकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आइतबार विभिन्न जनचेतना मूलक कार्यक्रम गरी विश्वभर मनाइएको छ । ७१ औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठ रोगीसँग भेदभाव नगरौँ,कुष्ठ रोगीलाई माया गरौँ,कुष्ठ रोगीप्रति हुने भेदभाव अन्त्य गरौँ’ तय गरिएको छ ।
आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस