२०८१ चैत्र ५, मंगलबार

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तयारीका लागि नवलपुरमा सुझाव सङ्कलन

  • बिष्णु गौडेल
  • २०८० माघ ४, बिहिबार
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तयारीका लागि नवलपुरमा सुझाव सङ्कलन

विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ४ माघ,
गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सुझाव सङ्कलन सुरु गरिएको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा जिल्लामा सुझाव सङ्कलन सुरु गरिएको हो ।

USAID जलजंगलको आर्थिक तथा प्राविधिक सहयोगमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा आयोजना गरिएको सुझाव सङ्कलन कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्न सके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । “दिगो विकासको आधार तय गरेर हरेक क्षेत्रलाई समावेश गरी तीनै तहका सरकारबिच समन्वय र सहकार्य हुने योजना निर्माण गर्न सुझाव सङ्कलनका लागि जिल्लामा आएको हौ”,उहाँले भन्नु भयो ।
प्रदेशमा उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र, दिगो ऊर्जा सुरक्षा, कृषिको आधुनिकीकरण, कृषि प्रशोधन तथा खनिज उत्खनन्, उद्योगधन्दा स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा, पर्यटनलगायत विषयलाई आगामि योजनामा प्रथमिकता दिइने मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी. ले कृषि क्षेत्रलाई उत्पादन संग जोडने गरि आगामि पञ्चवर्षीय योजना निर्माण गरिने बताउनु भयो । विगतको अनुभवलाई आधार मानेर आगामि योजना तर्जुमा गर्नु पर्ने मन्त्री जि.सीले बताउनु भयो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित प्रकाश आले मगरले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने मुल नाराका साथ आगामि योजना तयार पारिने बताउनु भयो । आर्थिक समृद्धीको मूल आधारलाई पहिचान गरि रोजगारमुखी योजना अगाडि सारिने मन्त्री आलेले बताउनु भयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगको प्रस्तावित अवधारणापत्रमा शिक्षाको खुद भर्ना दर ९७ प्रतिशत पुगेको, विद्युतमा पहुँच ९९.५० प्रतिशतमा पुगेको, आधारभूत खानेपानी ९४ प्रतिशत जनताले पाएको उल्लेख गरेको छ ।

योजना निर्माणका लागि पहिलो चरणमा स्थानीय तह र जिल्ला तहका विभिन्न संघसंस्था तथा राजनीतिक दलसँग सुझाव सङ्कलनको काम भइरहेको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताउनु भयो । प्रदेशभित्रका ११ वटा जिल्लाका सबै स्थानीय तहका प्रमुखसँग छलफल, समन्वय, तथा अन्तरक्रियाका कार्यक्रम गरी सुझाव सङ्कलनको अभियानका क्रममा नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सो काम गरिएको उहाँले बताउनु भयो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की बाहेकका अन्य जिल्लामा सुझाव सङ्कलनको काम सकिएको जानकारी दिँदै उपाध्यक्ष देवकोटाले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारीमा जुटेको उल्लेख गर्नुभयो । “पहिलो चरणमा स्थानीय तहसँग छलफल गरी लिखित रूपमै सुझाव पनि मागेका छौँ, जिल्ला समन्वय समितिसँग पनि पुनः एक पटक छलफल गर्छौ”, उहाँले भन्नुभयो, “प्रदेशसभा सदस्य, विषयगत समिति, मन्त्रीलगायत विभिन्न विषयगत विज्ञसँग सल्लाह तथा सुझाव मागेर खाका तयार पार्छौ, माघ महिना भित्रमा जिल्ला तहबाट सुझाव सङ्कलनको काम सक्ने छौँ ।”

फागुनभित्र योजनाको मस्यौदा तयार गर्ने र चैत मसान्तसम्ममा यसलाई अन्तिम रूप दिने लक्ष्य रहेको गण्डकी प्रदेश सरकारले जनाएको छ । आव २०७६/७७ देखि कार्यान्वयनमा आएको पहिलो योजनाको अन्तिम वर्ष रहेको छ भने आगामी योजना २०८१/८२ देखी कार्यान्वयनमा आएर २०८५/८६ सम्म रहने जनाइएको छ ।

सुझाव सङ्कलन कार्यक्रममा प्रदेशसभा सदस्य, नवलपरासी(बर्दघाट सुस्तापूर्व)का नगर तथा गाउँपालिका र जिल्ला समन्वय समितिका पदाधिकारीले पनि योजनाका लागि सुझाव दिनु भएको थियो । सुझावकै क्रममा आगामि माघ १५ गते भित्रमा समितिलाई लिखित दस्ताबेज पठाइ दिन आयोगले आग्रह गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस