नवलपरासी,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी कृषक समूहले विगत पाँच वर्ष देखि सामूहिक पुष्प खेती गर्दै आएका छन् ।
स्थानीय महिलाहरू समूहमा आबद्ध भई वि.सं २०७६ सालदेखि फूल खेती गर्दै आएको लक्ष्मी अधिकारीले बताउनु भयो । पहिलो वर्ष ६ कठ्ठा जमीनमा पुष्प खेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठामा सामूहिक पुष्पखेती गरेको अधिकारीले बताउनु भयो ।
“व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ चार÷पाँच वटा समूह मिलेर सामूहिक पुष्पखेती गरेका छौँ”,उहाँले भन्नु भयो,“वर्षेनी फूलको माग बढ्दो रहेको छ, स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत विक्री वितरण गर्ने गरेका छौँ ।”
दिदी बहिनी कृषक समूहले पुष्प खेती वाट गत वर्ष डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी गरेको छ । “अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदी बहिनीहरूको यसतर्फ आर्कषण बढ्न थालेको छ”,उहाँले भन्नु भयो ।
गैँडाकोट नगरपालिका–२ का सरिता कार्कीले पनि सामूहिक पुष्पखेती बाट राम्रो आम्दानी गरेको बताउनु भयो । तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रमहरूमा सयपत्री फूलको आर्कषण बढेकाले फूलको बजार राम्रो रहेको कार्कीले बताउनु भयो । दिदीबहिनी कृषक समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री लगाएको उहाँको भनाई छ ।
कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले आउदै गरेको तिहारका लागि एक विघाहा जमिनमा सयपत्री फुल लगाउनु भएको छ । चाडपर्वमा सयपत्री फुलको माग बढि हुने हुँदा आठ हजार बोट लगाएको मिश्राले बताउनु भयो ।
“फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुइवर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्दै आएका छौ”,उहाँले भन्नु भयो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सामूहिक पुष्पखेतीतर्फ किसानको आर्कषण बढ्न थालेको छ । नगदेबालीको रूपमा विकास गरि कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको हो । अहिले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा समूह गठन गरी सामूहिक पुष्प खेती गर्ने क्रम बढेको कृषि ज्ञान केन्द्र नवलपुरको बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनु भयो ।
“कृतिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक रूपमा पुष्पखेती तर्फ स्थानीय उत्साहित भएको पाएका छौ”,उहाँले भन्नु भयो,“जिल्लामा फूलमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र मार्फत पुष्पखेतीका लागि बिउ उपलब्ध गराउँदै आएका छौ ।”