२०८१ चैत्र २, आईतबार

मलमासले देवघाटमा लाग्ने बोलबम मेलालाई असर गर्ने, कामना नराखी भगवानको दर्शन गर्न सुझाव

  • बिष्णु गौडेल
  • २०८० अषाढ ३०, शनिबार
मलमासले देवघाटमा लाग्ने बोलबम मेलालाई असर गर्ने, कामना नराखी भगवानको दर्शन गर्न सुझाव

चितवन, असार ३०-

हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले असर गर्ने भएको छ ।

कुनै कामना राखेर गरिने धार्मिक कार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकोले यसपटक मेला प्रभावित हुने देखिएको हो ।

देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक अध्येताहरु साउने संक्रान्ति सोमबार परेकोले संक्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थीहरु नआउने अनुमान गर्छन् । मलमास सुरु हुनुअगाडि असारको दुई वटा सोमबार र मलमास सकिएपछि भदौंको दुई वटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरुको सुझाव छ । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले साउन २ गतेबाट मलमास पर्ने भएकोले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने नारायणी अनलाइनलाई बताए । उनले यस वर्ष साउने संक्रान्तिपछिका सोमबार धार्मिकरुपले दर्शनार्थीहरु कम आउने बताए ।

त्यसैगरी महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकोले साउने संक्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरुको संख्या कम हुने बताए । उनले भने, ‘ युवाहरु घुम्न र भगवानको दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामना पूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रुपमा भगवानको दर्शन र गंगा स्नान गर्न सकिने भए पनि मनोकामना पूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।’

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झण्डै दुई लाख जति दर्शनार्थीहरु आउने अनुमान गरे । साउने संक्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकोले झण्डै ५० हजार जति भक्तजन आउने उनको अनुमान छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेला यस वर्ष भने मलमासले खासै भीड नहुने स्थानीयको अनुमान छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरु खासै रोग्न जरुरी नभएको बताए ।

साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यसवर्ष साउनमा पाँच सोमबार परेपनि साउन २ गतेबाट मलमास सुरु हुने भएकोले भक्तजन कम आउने अनुमान गरिएको छ ।

के हो मलमास ?

मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवम् ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवम् पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवम् दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवम् तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा के गर्न हुन्छ र के गर्न हुँदैन ?

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ?

–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दम्पतीलाई चाहिँ छुट छ भनिएको होइन ।

–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस