२०८१ फागुन ३०, शुक्रबार

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफलः अर्जुन सापकोटा

  • बिष्णु गौडेल
  • २०७९ चैत्र १३, सोमबार
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफलः अर्जुन सापकोटा

दोहोरी गायक/सर्जक अर्जुन सापकोटा छोटो सयमै लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । विशेषगरी युवायुवतीमाझ लोकप्रिय बनेका लोक तथा दोहोरी गायक अर्जुन पछिल्लो समयमा धेरै रुचाइएका गायक मध्य पर्दछन् । उनका ‘ए ठुली’, ‘सिमलैमा मैना’, ‘बसाइ हाल्यो हरर’, ‘मायाले अन्तै घरबार जमायो’जस्ता गीतहरू ‘मिलियन क्लब’ नाघेका छन् भने ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’जस्ता गीतहरू ‘करोड क्लब’ नाघेका छन् ।
पछिल्लो ४ वर्षबाट आफ्नै युट्युब च्यानलमार्फत आफ्ना सिर्जनाहरू सार्वजनिक गर्दै आएका सापकोटाको तीन वर्षअघि देवी घर्तीसँगको स्वरमा भिडियोसहित ‘वनकी चरी’ गीत सार्वजनिक भएका थियो । उक्त गीतले युट्युब एवं टिकटकमा राम्रो चर्चा बटुलेको थियो । यही गीतले अर्जुनलाई पहिचान मात्र दिएन, स्थापित नै ग¥यो ।
त्यसपछि उनले ‘दशैं आयो’, ‘जन्मेकै गाउँ रोयो’ गीत गाए । त्यसले पनि राम्रै चर्चा पायो । उनको ‘पिरती नलाम माया’ गीत पनि उत्कृष्ट सावित भयो । यी गीतमा अर्जुनको स्वरसँगै संगीत पनि छ । त्यसपछि समीक्षा अधिकारीसँगको गीत ‘पछ्यौरी लिसियो’ निकै नै चर्चित बन्यो । संगीतसमेत अर्जुनकै रहेको उक्त गीतको भिडियोले युट्युबमा झण्डै तीन करोड बढी भ्युज पाएको छ । राजु परियार, कमला घिमिरेलगायतसँग गाएको ‘फुल्यो गुराँस’ पनि राम्रै चल्यो । त्यसपछि ‘दुई दुना चार’ बोलको गीत पनि ‘करोड क्लब’मा प्रवेश गर्न सफल भयो ।
कुशल गायक तथा संगीतकार मणि सापकोटा र माता दुर्गा सापकोटाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा वि.सं. २०५५ माघ १२ मा स्याङ्जाको पेलाकोट मान्थुम्कामा जन्मिएका अर्जुनका आशिका सापकोटा बहिनी र अविरल सापकोटा भाइ समेत छन् । अर्जुन पाँच वर्षको हुँदा स–परिवारसहित मध्यविन्दु ७ अम्रसा नवलपुरमा बसाइ सरका हुन् ।


हाल अम्रसामै स्थायी बसोबास गर्ने उनी गीतसंगीतका कामले राजधानीलाई कर्मथलो बनाए पनि फुर्सद पाउने बित्तिकै घर पुगिहाल्छन् । कलाकार भएपछि आएका मेला महोत्सव पनि पुग्नु पर्ने बताउँदै अर्जुनले आफूलाई गीत संगीतले नै नेपालका विभिन्न जिल्लासहित विदेशसम्म पु¥याएको स्मरण गर्छन् । सांगीतिक प्रस्तुतिका क्रममा उनी नेपाल बाहिर कतार, अस्ट्रेलिया र भारतसम्म पुगेका छन् । उनले स्वर दिएका गीतहरूको संख्या करिब ४ दर्जन र मोडलिङ गरेका म्युजिक भिडियोको संख्या पनि दुई दर्जनभन्दा बढी पुगिसकेको छ ।
यतिबेला उनका थुप्रै गीत सार्वजनिक हुने पर्खाइमा छन् । ‘मेरो आफ्नै युट्युब च्यानलबाट आउने गरी पाँच वटा गीत तयार हुँदैछन् । अरू कम्पनीहरूको गीत पनि ल्याउने तयारी भइरहेको छ’, उनले भने ।
प्रतिभा र समयलाई बुझेर मिहेनत गर्न सके गीतसंगीतमा राम्रो आम्दानी हुने अर्जुनको बुझाइ छ । ‘डिजिटल प्लेटफर्म बढिरहेका छन् । त्योसँगै गीतसंगीतमा आम्दानीका स्रोतहरू पनि बढिरहेका छन् । प्रविधि बुझ्न सकियो र त्यहीअनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ’, उनी भन्छन्, ‘मेरो पारिवारिक माहोल नै संगीतमय छ ।’ अर्जुनका परिवारमा सबैले गीत गाउँछन् । उनको परिवारका हरेक सदस्य गीत संगीतसँग जोडिएका छन्, जसका कारण पनि उनको नसा नसामा नेपाली लोक गीत बगेको छ ।
अर्जुन गायक मात्र होइनन् गीत पनि लेख्छन्, भाका बनाउँछन् र गीतको म्युजिक भिडियोमा मोडलिङसमेत गर्छन् । आफू व्यावसायिक मोडेल नभए पनि कम्तीमा आफ्ना गीतमा आफैंले अभिनय गर्दा फाइदा पनि हुने र दर्शकले फरक फरक पहिचानले चिन्दा आफैंलाई लाभ हुने उनको बुझाइ छ ।
अर्जुनले अभिनय गरेको पछिल्लो गीत ‘च्याप्प पर्वते माया’ले टिकटकमा तहल्का मच्चाइरहेको छ । उनका बुवाले पहिल्यैदेखि गीत लेख्ने, गाउने गर्थे । यद्यपि, परिस्थितिले उनले त्यसबेला गीत रेकर्ड गर्न पाएनन् । तर बुवाले आफूलाई गीतसंगीतमा लाग्न सानैदेखि प्रेरित गरेको अर्जुन बताउँछन् । अर्जुनका बुवाले सिर्जना गरेका गीतहरूमा चर्चित गायक÷गायिकाहरूले समेत स्वर दिइसकेका छन् । अर्जुनले पनि ‘परदेशीको पीडा’ बोलको तीज गीतमार्फत बुवासँग पहिलो पटक सांगीतिक सहकार्य गरेका हुन् । बुवाको शब्दमा छोराको स्वर रहेको उक्त गीतले युट्युबमा राम्रो भ्युज पायो । त्यसयता बुवाले लेखेका अन्य गीतमा पनि उनले स्वर भरेका छन् । त्यसबखत जिल्लासँगै बाहिरका सांगीतिक कार्यक्रमहरूबाट उनलाई निम्तो आउन थालिसकेको थियो । ‘सांगीतिक क्षेत्रमा मार्ग निर्देशन गर्ने पहिलो व्यक्ति नै बुवा हुनुहुन्छ’, उनी भन्छन् ।
अर्जुनले प्रत्यक्ष दोहोरी पनि प्रखररूपमा गाउन सक्छन् भने स्टेजमा उनले न्याय दिएर गीत गाउन सक्ने युवा गायकको पहिचानसमेत बनाएका छन् । आफ्ना गीत संगीतलाई आफैं डिजिटल प्लेटफर्ममा आफैंले राख्ने गरेका छन् । अविवाहित अर्जुनलाई विवाहको प्रस्ताव धेरै आउने गरेपनि आफूले गीतसंगीतमा केही नयाँ र एउटा इँटा थपेपछि घरजम गर्ने सोच बनाएको बताए ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस