विष्णुप्रसाद गौडेल,मध्यविन्दु, १० चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ३३४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि फागुन सम्म जिल्लामा २०२ जना पुरुष र १३२ जना महिला गरि ३३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य १४ वर्ष मुनिका पाँच जना बालिका र एक जना बालक पनि रहेको तथ्याङकमा देखिएको छ ।
साउन देखि फागुन सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य नौ जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनु भयो ।
गत आर्थिक वर्षको साउन देखि फागुन सम्म जिल्लामा ३१२ जना क्षयरोगी भेटिएकोमा यो वर्ष गत वर्षको भन्दा २२ जना वढी क्षेयरोगी भेटिएका छन् ।
“जिल्लामा अहिले ३२२ जना क्षयरोगीले औषधी सेवन गरिरहनु भएको छ भने साउन यता १२ जनाको मृत्यु भएको छ ” उहाँले भन्नु भयो “औषधी सेवन गरिरहेका क्षयरोगी मध्य सात जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रुपमा उपचार भईरहेको छ ।”
चालु आर्थिक वर्षको आठ महिनामा जिल्लमा भेटिएका क्षयरोगी मध्य गैँडाकोट नगरपालिकामा सबै भन्दा धेरै ८१ जना रहेका छन् । त्यसैगरी कावासोती नगरपालिकामा ६६ जना, देवचुली नगरपालिकामा ५१ जना, मध्यविन्दु नगरपालिकामा ५० जना, विनयी त्रिवेणी गाउँपालिकामा ३७ जना, हुप्सेकोट गाउँपालिकामा २९ जना, बुलिङटार गाउँपालिकामा १२ जना र वौदीकाली गाउँपालिकामा ८ जना नयाँ क्षयरोगी भेटिएको चापागाईले बताउनु भयो ।
“जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म ५२९ जना क्षयरोगी फेला परेका थिए भए भने १९ जनाको मृत्यु भएको थियो” उहाँले भन्नु भयो “आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४१६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ४४ डट्स केन्द्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनु भयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डीआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको छ । जहाँ अन्य जिल्लाका क्षयरोगीहरुको पनि आवासीयरुपमा उपचार गर्ने गरिएको छ । गण्डकी प्रदेशमा डीआर होस्टेल नवलपुर संगै बाग्लुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ७४९ डट्स केन्द्र रहेको छ ।
“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको संख्या बढ्दै गइरेको छ” फोकल पर्सन तिवारीले भन्नु भयो “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउदै रोगीको पहिचान कार्यलाई तिब्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने तिवारीले बताउनु भयो । बहुऔषधि प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनु भयो ।
विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाई विरामीहरु रहेका छन् । जसमध्य २८ प्रतिशत भारत,९.२ प्रतिशत इन्डोनेशिया,७.४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपिन्समा रहेका छन् ।
प्रत्यक वर्ष मार्च २४ तारीकका दिन मनाइदै आइएको विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतना मुलक कार्यक्रम गरि विश्वभर मनाईदै छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामि क्षयरोग अन्त्य गर्छौं’ तय गरिएको छ ।