२०८१ फागुन ३०, शुक्रबार

सामूहिक आलु खेतीमा आकर्षित किसान

  • बिष्णु गौडेल
  • २०७९ पौष १८, सोमबार
सामूहिक आलु खेतीमा आकर्षित किसान

नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसानहरु सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् । कृषक समूहका किसानहरु यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । कृषिमा आत्मनिर्भर बन्नको लागि यहाँका किसानहरु आलु खेतीमा लागेका हुन् ।
एक विगाहा जग्गा भाडामा लिएर पशुपति कृषक समूह मार्फत सामूहिक रुपमा आलु खेती गर्दै आइरहेको समुहका अध्यक्ष बलराम पोख्रेलले बताउनु भयो । सामूहिक रुपमा कृषिमा केही गर्ने उद्धेश्यले आलु खेतीमा लागेका किसान बजारीकरण र जिल्लामा उपयुक्त कोल्ड स्टोर नहुँदा आँफूहरुले लगाएको आलु बिग्रर्ने चिन्ता वढेको छ ।
“आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ”अध्यक्ष पोख्रेलले भन्नु भयो “सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचे अनुरुप भए अर्काे बर्ष डेढ विगाहामा आलु खेती गर्नेछौँ ।”
सामूहिक रुपमा आलु खेती गरेका अर्का किसान जगनाथ पोख्रेलले यसपालि आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गर्नु भएको छ । विगतका बर्षहरुमा सामूहिक रुपमा प्याज खेती, टमाटर खेती गर्दै आएका पशुपति कृषक समूहका किसानहरु अर्काे बर्ष सामूहिक मकै खेती गर्ने सोचमा रहेका छन् ।
महिलाहरु खेतबारीमा बढि व्यस्त हुने गर्छन् । अहिले सामूहिक रुपमा लागेपछि समयको बचत साथै धेरै कुराको जानकारी हुने अर्की किसान देउरुपा चापागाईं बताउनुहुन्छ । सामूहिक रुपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने पशुपति कृषक समूहको लक्ष्य रहेको छ ।
जिल्लामा यो वर्ष तीन हजार १७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनु भयो । “गत वर्ष तीन हजार ११५ हेक्टरमा आलु खेती भएकोमा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार भएको छ ”प्रमुख लामिछानेले भन्नु भयो“गत वर्ष जिल्लामा ५५ हजार २४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”
जिल्लामा व्यवसायिक आलु खेती गर्ने किसानको संख्या प्रत्यक वर्ष वढेको तथ्याङकमा देखिएको छ ।

तस्बिरः नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसानहरु सामूहिक आलुखेती गर्दै । जिल्लामा यो वर्ष तीन हजार १७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस