२०८१ फागुन ३०, शुक्रबार

धार्मिक पर्यटनको गन्तव्य बन्दै नवलपरासीको महाराजा थान

  • बिष्णु गौडेल
  • २०७९ मंसिर ११, आईतबार
धार्मिक पर्यटनको गन्तव्य बन्दै नवलपरासीको महाराजा थान

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ ।

महाराजा बाबालाई साचो मनले सम्झेर गरेको भाकल पूरा हुने भएकाले यस मन्दिरमा दिनहुँ भाकल गर्न र पूजापाठ गर्न आउने बढ्दै गएका मन्दिरका पुजारी शिवराज महतोले बताउनुभयो ।

“यो मन्दिरको छुट्टै विशेषता रहेको छ, त्यो हो यहाँ भाकल गरेका सबै कुरा पूरा हुनु”, उहाँले भन्नुभयो । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत यो कुराले चकित पर्ने गरेका छन् ।

यस मन्दिरमा भाकल गर्न र पूजापाठ गर्न भारतको देहरादुनबाट नेपालका लगभग सबै क्षेत्रका तीर्थालु आउने गरेका पुजारी महतो बताउनुहुन्छ । कावासोती नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ ।

यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको कावासोतीवासी गुनासो गर्छन् । प्रचारप्रसारको अभावले ओझेलमा परेको भए पनि पछिल्ला केही वर्षदेखि यहाँ आउने भक्तजन उल्लेख्यरुपमा बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाले बताउनुभयो ।

मन्दिर नजिकै वनभोजस्थलको समेत व्यवस्थापन भएपछि पछिल्लो समय वनभोजका लागि आउने पनि बढ्दै गएका अध्यक्ष थापा बताउनुहुन्छ । चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्यका कारण वनभोजका लागि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सोअनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोडभन्दा धेरै रकम आवश्यकपर्ने जनाएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले दिनुपर्नेजति चासो नदिएको अध्यक्ष थापाको गुनासो थियो । रासस

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस