निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजनामा हुप्सेकोट गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । आउदो आइतवार सम्म सञ्चालन हुने शिविरको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मधु कुमार मरासिनीले उद्घाटन गर्नु भएको हो । निजामती सेवा दिवस २०७९ को अवसरमा विभिन्न निकायहरु संगको सहकार्यमा आयोजित शिविर हुप्सेकोट गाउँपालिका कार्यालय परिषरमा सञ्चालन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निजामती कर्मचारी अस्पतालको आयोजना , भरतपुर अस्पताल र हुप्सेकोट गाउपालिकाको सहयोगमा शिविर सञ्चार गरिएको हो । निजामती कर्मचारी अस्पताल काठमान्डौ र भरतपुर अस्पताल चितवनका ५४ जना विशेषज्ञ चिकित्सक शिविरमा खटिएका छन् । तीन दिन सम्म सञ्चान हुने शिविर वाट हुप्सेकोट गाउपालिका संगै छिमेकि पालिकाका गरि करिव ५ हजार सर्वसाधारणले स्वास्थ्य परिक्षण गर्ने अनुमान गरिएको छ ।
शिविरमा इन्टरनल मेडिसिन, गाईने एण्ड अव्स, रेडियोलोजीष्ट, अप्थाल्मोलोजिष्ट, जनरल सर्जन, कार्डियोलोजिष्ट, अर्थोपेडिक्स सर्जन, फेमिलि मेडिसिन स्पेशियालिष्ट, मेडिकल अधिकृत र एक्सरे टेक्निसियन सहितको सेवा उपलव्ध गराइएको छ । सिविरमा ईको मेशिन, ईसिजी मेशिन, डिआर पोर्टेबल एक्सरे सेवा सहित निःशुल्क औषधी पनि वितरण गरिएको छ ।
शिविरको उद्घाटन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मधु कुमार मरासिनीले निजामति कर्मचारी अस्पतालनै हुप्सेकोटमा आएको हुदा नवलपुर जिल्लाका जनताले शिविरको लाभ लिन अनुरोध गर्नु भयो । दिवस तथा उत्सव सधै औपचारिक कार्यक्रम मात्र गरेर मनाउनु भन्दा प्रत्यक्ष लाभ र सहयोग हुने गरि गर्नु राम्रो हुने मरासिनीले वताउनु भयो । स्वास्थ्य शिविर हुप्सेकोट गाउपलिकामा सञ्चालन गरेकोमा निजामती कर्मचारी अस्पतालको टिमलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वोल्दै नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्वास्थ्य शिविरले जिल्लाका सर्वसाधारणलाई प्रत्यक्ष लाभ मिलेको हुदा आयोजक प्रति आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै निजामती कर्मचारी अस्पताल काठमाण्डौका कार्यकारी निर्देशक प्रा.डा.विधाननिधी पौडेलले धेरै वर्ष पछि ग्रामिण भेगमा सवै सेवा सुविधा सहितको स्वास्थ्य शिविर आयोजना गरिएको वताउनु भयो । धेरै रकम खर्च गरेर विशेषज्ञ सेवा लिन सहर तिर जानु पर्ने नागरीकलाई आफ्नै गाउँमा शिविर सञ्चालन गरिएको कार्यकारी निर्देशक पौडेलले वताउनु भयो । शिविरमा उपचार सम्भव नभएका वा थप उपचार गर्नु पर्ने अवस्था आएमा भरतपुर अस्पताल वा निजामती कर्मचारी अस्पतालमा उपचार गरिने कार्यकारी निर्देशक पौडेलले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा वोल्दै भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेट कृष्ण पौडेलले नवलपुरका सर्वसाधारण उपचारका लागि भरतपुर नै जाने हुदा यस क्षेत्रका नागरीकलाई सहज उपचारका लागि प्रतिद्ध रहेको वताउनु भयो । शिविर मार्फत गाउँ घरमा आउदा यहाको अवस्था थाहा हुने हुदा आगामि दिनमा गाउँपालिका संग सहकार्य गरि स्वास्थ्य सेवामा सहकार्य गर्ने पौडेलले वताउनु भयो ।
त्यसैगरी कार्यक्रममा वोल्दै हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले नागरीकको स्वास्थ्य महत्तोपुर्ण रहेको हुदा निजामती कर्मचारी अस्पताल संग सहकार्य गरि शिविर सञ्चालन गरिएको वताउनु भयो । निजामती सेवा दिवसको शुभकामना दिदै अध्यक्ष पाण्डेले निजामती कर्मचारी अस्पताल र भरतपुर अस्पताललाई सयोजन गरि शिविर सञ्चालन गर्नु हुने निजामती कर्मचारी अस्पताल का प्रशासन विभाग प्रमुख कृष्ण सापकोटालाई विशेष आभार व्यक्त गर्दै आगामि दिनमा पनि सहकार्य गर्ने इच्छा व्यक्त गर्नु भयो ।
निजामती अस्पतालले यस वर्षको निजामती सेवा दिवसको अवसरमा तराई र पहाडी क्षेत्रको दुई दुर्गम स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार हुप्सेकोट गाउँपालिकामा बिशेषज्ञ चिकित्सक र प्रविधि सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको निजमती कर्मचारी अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनु भयो ।