नवलपुर
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि राजनैतिक दलहरु घोषणा पत्रको तयारीमा जुटिरहदा जिल्ला तहमा पनि यसको विषयमा छलफल शुरु भएको छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा जनताको भावना र योजना समेटिएका घोषणापत्र लिएर राजनैतिक दलहरु चुनावी प्रतिस्पर्धामा होमिदैछन ।
यसैविचमा पूर्वी नवलपरासीमा नेपाली कांग्रेस गैडाकोटले स्थानीय तह निर्वाचनको लागि तयार गर्न लागेको घोषणा पत्रमा समावेश गर्नुपर्ने विषयलाई नगरवासी समक्ष सुझाव संकलन शुरु गरेको छ ।
जनभावना र नगर विकासको सन्दर्भमा आजदेखि वैशाखा ५ गतेसम्म सुझाव संकलन आह्रवान गरेको पत्रकार सम्मेलन गरी नगरसभापति बद्री सापकोटाले जानकारी दिनुभयो । नगरवासीको राय सल्लाह, सुझाव संकलनका लागि नेपाली कांग्रेसको नगर पार्टी कार्यालय विपी स्मृती भवनमा सुझाव पेटिका राखेको छ । त्यस्तै नगरपालिका भित्रका माध्यमिक विद्यालय तथा क्याम्पस परिसर बाहिर समेत सुझाव पेटिका राखेको जनाएको छ ।
नगरपालिका भित्र रहेका १८ वटा वडाका वडा सभापतिहरु मार्फत लिखित वा मौखिक रुपमा समेत सुझाव दिन, नेपाली कांग्रृ गैडाकोटको इमेल ठेगाना [email protected] मा पनि सुझाव दिन आग्रह गरिएको छ । वैशाख ४ गते आइतवार विहान १० बजेबाट बेलुका ५ बजेसम्म गैडाकोट नगरपालिकाको कार्यालय परिसर बाहिर राखिएको सुझाव पेटिका मार्फत पनि सुझाव दिन सकिने भन्दै नगरसभापति सापकोटाले निर्वाचन आचारसंहिताको परिधि भित्र रहेर सुझाव संकलनका गतिविधि सम्पन्न गर्ने बताउनुभयो । जनभावना समेट्ने गरी ल्याउन लागेको घोषणा पत्रका लागि नगरसचिव कृष्णमुरारी खनालको संयोजकत्वमा तयारी समिती गठन गरिएको छ ।