काठमाडौं– इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गतको गएराति सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ। शनिबार राति दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए। उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए।
यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले। अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए। मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए।
मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले। उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए। मुम्बईका क्वेन्टन डि ककले ३८ र कप्तान रोहित शर्माले ३५ रन बनाए। त्यस्तै, क्रुनाल पाण्ड्याले ३२ रन बनाए।
चेन्नईका साम कुरानले ३ विकेट तथा मोइन अली र रवीन्द्र जडेजाले समान एक/एक विकेट लिए। जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ। ७ खेलमा १० अंक जोडेको चेन्नई पारजयपछि पनि शीर्ष स्थानमा यथावत् छ।